लेखा समितिमा प्रधानसेनापति, ‘फास्ट ट्र्याकको १ अर्ब ३९ करोड बेरुजु तत्काल फर्स्योट हुने अवस्था छैन’

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रहेको बेरुजु घटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्स्योट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन ।

संसद्को सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने पनि बताएका छन ।

यद्यपि, तत्कालका लागि भने धेरै बेरुजु फर्स्योट हुन नसकेको उनले स्वीकार समेत बताएका छन । सेनाले यस वर्ष कुल बेरुजुमध्ये ६० प्रतिशत फर्स्योट गर्ने लक्ष्य राखेको थियो ।

तर, हालसम्म ११ प्रतिशत मात्र प्रगति भएको र असार मसान्तसम्म अधिकतम १५ प्रतिशतसम्म मात्र पुग्ने प्रधानसेनापति सिग्देलले जानकारी दिए । लक्ष्यअनुसार प्रगति नहुनुमा तराई–मधेस द्रुतमार्गको ठूलो रकम मुख्य कारण रहेको पनि उनले बताएका छन ।

उनले भने, ‘हामीले ६० प्रतिशत बेरुजु फर्स्योट गर्ने लक्ष्य लिएका थियौँ, तर अहिलेसम्म जम्मा ११ प्रतिशत मात्र भएको छ र असार मसान्तसम्म अधिकतम १५ प्रतिशतसम्म गर्न सक्छौँ, यसको मुख्य कारण फास्ट ट्र्याकको प्याकेज ६ अन्तर्गतको १ अर्ब ३९ करोड रुपैयाँको लिक्विडेटेड ड्यामेज (एलडी) हो, त्यो तत्काल फर्स्योट हुन सक्ने अवस्थामा नभएको जानकारी म सबैसमक्ष गराउन चाहन्छु ।’

प्रधानसेनापति सिग्देलका अनुसार सेनाले १५ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बेरुजु सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेस गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । यसमा एम्युनेसन खरिदको ४ करोड ११ लाख ६९ हजार, मेसिनरी स्पेयर पार्ट्सको १ करोड ८९ लाख ९१ हजार, लक्ष्मी बैंकबाट ब्याज असुलीपश्चात् फर्स्योट हुनुपर्ने ७ करोड ६९ लाख ६० हजार र पारिश्रमिक कर कट्टीको १ करोड ५० लाख ६० हजार रुपैयाँ समावेश छ ।

यो रकम तत्काल महालेखामा पेस गरिने उनले बताए । यसैगरी, रक्षा मन्त्रालयमार्फत नियमित गर्नुपर्ने समरदली विभागका विभिन्न शीर्षकका २ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बेरुजु पनि असार मसान्तभित्र पठाइसक्ने सेनाको योजना छ । सैनिक कल्याणकारी कोषतर्फको बेरुजु फस्र्योटमा पनि सेनाले काम गरिरहेको छ ।

कोषतर्फ कुल ३३ करोड ४३ लाख ७७ हजार रुपैयाँ बेरुजु रहेकोमा हालसम्म करिब २ प्रतिशत अर्थात् ६५ लाख ४८ हजार मात्र फर्स्योट भएको छ । कोषअन्तर्गत रहेको नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २० करोड २१ लाख ७५ हजार बेरुजुमध्ये असारसम्म ९ करोड ३७ लाख फर्स्योट गर्ने लक्ष्य राखिएको छ ।

विमान चार्टर समितिको बेरुजुमध्ये १० करोड ११ लाख ६५ हजार पेस्की, १ करोड ७८ लाख ८० हजार नियमित प्रमाण पेस गर्नुपर्ने र ८ करोड ३३ लाख ५२ हजार असुलउपर गर्नुपर्ने शीर्षकमा रहेको छ ।

त्यस्तै, कोषतर्फकै अर्को १२ करोड ३६ लाख ३४ हजार बेरुजुमध्ये ६ करोड ७९ लाख ८० हजार यसै असारभित्र फर्स्योट हुने सिग्देलले समितिलाई जानकारी दिए । यो रकममध्ये ५ लाख ६६ हजार पेस्की, ३ करोड ८६ लाख ४४ हजार नियमित प्रमाण पेस गर्नुपर्ने र ९ करोड ७ लाख ५० हजार असुलउपर गर्नुपर्ने शीर्षकमा छ । कल्याणकारी कोषतर्फका धेरै बेरुजुहरू २०३२ सालमा कोष स्थापना भएदेखिकै रहेकाले असुलउपर गर्न र कागजपत्र जुटाउन निकै गाह्रो भइरहेको सिग्देलले बताए ।

पुराना बेरुजुहरू वर्षौँदेखि सर्दै आएकाले प्रमाण खोज्न कठिन भए पनि सेनाले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । ‘धेरै पुराना बेरुजुहरू भए पनि हामीले प्रमाण खोजिराखेका छौँ,’ उनले भने, ‘सकेसम्म यो वर्ष हामीले कल्याणकारी कोषतर्फको ५० दशमलव १६ प्रतिशत बेरुजु असारभित्रै फर्स्योट गर्न सक्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us