कांग्रेसले माग्यो ३ प्रतिवेदन कार्यान्वयनको प्रगति

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– प्रतिपक्षी दल कांग्रेसले फरक–फरक तीन वटा प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण माग गरेको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत बहादुर खड्काले गत भदौ २३ गते भएको घटनालाई छानबिन गरे पनि २४ गतेको घटनाको सम्बन्धमा कहिले छानबिन हुन्छ भनेर प्रश्न गरे । ‘सोही घटनालाई संवैधानिक निकाय मानव अधिकार आयोगले पनि छानबिन गरेको छ ।

प्रतिवेदन बनाएको छ,’ उक्त प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ ?’ खड्काले प्रश्न गरे । मानव अधिकार आयोगको प्रतिवेदनले प्रभावशाली र होनहार सांसदहरूको् समेत नाम उल्लेख रहेको पनि उनले स्मरण गरे ।

उनले भने, ‘कारागार जलाएर रुफटप गाडीमा हात हल्लाउँदै हिँड्नु भएका मान्यज्यूहरुलाई पनि आयोगको प्रतिवेदनले समावेश गरेको छ, ‘म सोध्न चाहन्छु सरकार उक्त प्रतिवेदन कार्यान्वयन कहिले हुन्छ ?’

साथै उनले सरकारको सय बुँदे कार्यसूचीमा समावेश भएको हप्ता दिन भित्रै भदौ २४ को घटना छानबिन गर्न बनाउने भनेको अर्को आयोग कहिले बन्छ भनेर प्रश्न समेत गरेका छन ।

साथै उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति लगायत विषयमा प्रश्न उठेपश्चात समिति बनाइएको र समितिले प्रतिवेदन बुझाएको सुनिएको भन्दै उनले भने, ‘उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनस् बनाइएको छ । त्यो कहिले सार्वजनिक हुन्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us