नक्कली भुटानी शरणार्थी प्रकरणः केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डूमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई अदालतमा बयानका लागि बोलाउनु पर्ने माग गर्दै आज (बिहीबार) निवेदन दर्ता भएको छ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानमा बोलाउन माग गर्दै निवेदन दर्ता भएको हो ।

भुटानी शरणार्थी प्रकरणमा यी व्यक्तिहरूले रकम बुझेको भनी दिएको अडियो बयान, भिडियो प्रमाणसहित मिसिलमा संलग्न गरी पेस गरिएको अधिवक्ता नेपालले जानकारी दिए ।

उक्त निवेदनमा केन्द्रित भएर भोलि अदालतमा बहस हुने नेपालले जानकारी दिए । बुधबारदेखि जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको अन्तिम चरणमा सुनुवाइ सुरु भइरहेको छ ।

नक्कली कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ । सङ्गठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेसी चढेर सुनुवाइ भएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us