हामी नयाँ छौँ, संसदीय अनुभव छैन, ट्रेनिङका लागि बजेट छुट्याइयोस्ः रञ्जु दर्शना

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शना (न्यौपाने)ले सांसदहरूको ट्रेनिङका लागि बजेट छुट्याउन माग गरेकी छन ।

खासगरी पहिलोपटक संसदमा आएका नयाँ र अनुभव नभएका सांसदहरूको वृत्ति विकास र संसदीय व्यवस्थासम्बन्धी ट्रेनिङका लागि बजेटको व्यवस्था गर्न उनले अर्थमन्त्रीसँग बजेट छुटाउँन माग गरेकी हुन ।

प्रतिनिधिसभामा विनियोजन बजेटको राजस्व र व्ययमाथिको छलफलका क्रममा बिहीबार बोल्दै दर्शनाले भनिन्, ‘पहिलोपटक जनताबाट अनुमोदित भएर आएका हामी नयाँ छौँ, संसदीय अनुभव छैन ।

अनुभव अलि पुगेको छैन । तसर्थ हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने म जोडदार अपिल गर्दछु ।’ सोही अवसरमा सांसद दर्शनाले अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मीठो तर, असत्य नराखी मुलुकको आर्थिक अवस्थाअनुसार तितो तर सत्य यथार्थ राखिदिएको भन्दै धन्यवाद समेत दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us