विश्वराजको बचाउमा रास्वपा ओखलढुंगा, भिडिओ सार्वजनिक गरिएकोमा खेद

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ओलखढुंगाले प्रतिनिधिसभा सांसद विश्वराज पोखरेलको विद्यालय भ्रमणका क्रममा उत्पन्न विवादको भिडिओ सार्वजनिक गरिएकोप्रति आपत्ति व्यक्त गरेको छ ।

रास्वपाको खिजिदेम्बा गाउँपालिका कार्य समितिले शनिबार विज्ञप्ति जारी गर्दै पोखरेलले विद्यालयमा रहेका समस्या, सहयोग तथा समाधानका विषयमा छलफल गर्न खोज्दा विद्यालय व्यवस्थापन समिति तथा प्रशासनको लापरवाहीपूर्ण व्यवहार र ढिलासुस्तीका कारण अप्रत्याशित रूपमा विवाद सिर्जना भएको दाबी गरेको छ । सोही क्रममा प्रधानाध्यापकबाट आत्मआलोचनासहित विवाद समाधान गरिएको भएतापनि नियतवश उक्त विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएको भन्दै आपत्ति व्यक्त गरेको हो ।

पोखरेल प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएपछि स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, विकास निर्माणको अनुगमन तथा जनताका समस्याबारे स्थलगत रूपमा जानकारी लिने क्रममा खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडा कार्यालय, विद्यालय तथा निर्माणाधीन संरचनाहरूको अवलोकन गर्दै आएका थिए ।

यसै क्रममा वैशाख १० गते बिहान खिजिदेम्बा गाउँपालिका–२ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय, रगनीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमबारे विद्यालयलाई पूर्व जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘माननीयज्यूले व्यस्त समयका बावजुद विद्यालयमा रहेको समस्याबारे सहयोग तथा समाधानका विषयमा छलफल गर्न खोज्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा प्रशासनको लापरवाहीपूर्ण व्यवहार र ढिलासुस्तीका कारण अप्रत्याशित रूपमा विवाद सिर्जना हुन पुगेको थियो ।

सोही क्रममा प्रधानाध्यापकबाट आत्मआलोचना सहित विवाद समाधान गरिएको भएतापनि नियतवश उक्त विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र सो कार्यप्रति खेद प्रकट गर्दछौं ।

साथै, यस घटनाबाट आम शुभेच्छुक, ओखलढुंगाका आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू साथै विद्यालय प्रशासनमा पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us