सुकुमवासीले नियम पालना गरे भन्दै उत्सव मनाउनु पर्याप्त होइनः एमाले महासचिव पोखरेल

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– एमाले महासचिव शंकर पोखरेलले सुकुमवासीहरूका लागि सरकारले मानवीय व्यवहारका न्यायोचित समाधान दिन सक्नुपर्ने बताएका छन । बालेन सरकारले आज (शनिबार) बिहानबाट उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ ।

यसैबीच थापाथली आसपासका सुकुमवासी बस्ती खाली भइसकेको छ । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत वर्षौंदेखिको बास छोड्न बाध्य भएका श्रमीकको आँखा र अनुहारमा देखिएको पीडाबोध पनि सरकारले गर्नुपर्ने उल्लेख गरेका हुन् ।

एमाले महासचिव पोखरेलले समाजिक सञ्जालमा लेखेका छन,‘अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखिको बास छोड्न बाध्य भएका ती श्रमिकहरुको आँखा र अनुहारमा देखिएको पीडा समेत देख्न सक्नु पर्दछ, ‘यिनै गरिब श्रमिकहरूको हातले शहर उठ्यो, तिनकै पसिनाले सडक, बजार र बस्ती गुल्जार भए।

आज उनीहरू बाध्य भएर बस्तीवाट टाढिँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त होइन ।’उनीहरूको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी रहेको पनि उनले बताएका छन ।

‘पूर्ववर्ती सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कानूनी जटिलता महसुस गरेर बलियो कानुन बनाई भूमि आयोगमार्फत समाधानको प्रक्रिया अघि बढाएको थियो,’ पोखरेलले भनेका छन्, ‘जनताको लोकप्रिय जनादेश पाएको बालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनु पर्दछ ।’

उनले विश्वास टुटेका मानिसहरुको विद्रोह कति विस्फोटक हुन्छ भन्ने कुरा बताइराख्न नपर्ने पनि बताएका छन् ।‘विश्वास टुटेका मानिसहरूको विद्रोह कति विस्फोटक हुन्छ भन्ने कुरा बताइरहनु पर्ने विषय होइन,’ पोखरेलले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us