सुकुम्बासीका लागि होल्डिङ सेन्टर, तीन क्षेत्रमा बस्ती हटाइँदै

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते ९:३७ मा प्रकाशित

काठमाडौं, १२ वैशाख-नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्न सरकारले होल्डिङ सेन्टरको व्यवस्था गरेको छ ।
पहिलो चरणमा काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु गरिएको छ । हटाइएका परिवारलाई अस्थायी रूपमा राख्न विभिन्न स्थानहरू छनोट गरिएको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
उनका अनुसार पाँच स्थानमा होल्डिङ सेन्टर तयार पारिएको छ । नागार्जुनमा ४२ वटा आवास युनिट व्यवस्था गरिएको छ भने कीर्तिपुरस्थित सत्सङको ठूलो भवनलाई पनि अस्थायी बसोबासका लागि प्रयोग गरिनेछ ।
त्यस्तै भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागस्थित सरकारी भवन तथा खाली जग्गामा समेत अस्थायी व्यवस्थापन गरिने उनले बताइन् ।
सरकारले नक्कली सुकुम्बासीको हकमा वैकल्पिक व्यवस्था नहुने र त्यस्ता विवरण सार्वजनिक गरिने स्पष्ट पारेको छ । साथै, सबै व्यक्तिको विवरण डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने तयारी भइरहेको पनि जानकारी दिइएको छ ।
बस्ती हटाइएका परिवारका लागि तत्काल खानाको व्यवस्था गरिएको छ ।

पुनर्स्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयलगायत आधारभूत सुविधा सुनिश्चित गर्ने तयारी पूरा भइसकेको बताइएको छ ।
सरकारले यसअघि निर्माण गरिएका संरचना र पूर्वाधारलाई नै उपयोग गर्दै सुकुम्बासी व्यवस्थापन गर्ने योजना अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us