केपी ओली पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १४ गते ५:४८ मा प्रकाशित

काठमामाण्डू, १४ चैत- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई पक्राउ परेका छन् ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङको लिखित आदेशमा प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहान पक्राउ गरेको हो ।

त्यसअघि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीसँग मन्त्रालय र नक्सालस्थित प्रहरी महानिरीक्षकको निवासमा रातभर छलफल गरेका थिए ।

महानिरीक्षक कार्कीले लिखित आदेशपछि मात्र पक्राउ गर्न सकिने अडान लिएपछि गृहमन्त्री सुधन गुरुङले लेखेर दिएका थिए ।

२३ र २४ भदौको नवयुवा आन्दोलनको दमन तथा लुटपाट र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित उच्चस्तरी छानबिन आयोगले ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसहितलाई निशस्त्र प्रदर्शनकारीमाथि गोली चलाएर हत्या गरेको आरोपमा तीनदेखि १० वर्षसम्म जेल सजाय गर्न सिफारिस गरेको थियो ।

सरकारले लुकाए पनि सार्वजनिक सञ्चार माध्यमले प्रकाशित गरेपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्न निर्देशक दिएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्यवन गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us