मलामी नपाएपछि शव गाडियो, भलले निकाल्यो

काठमाण्डु टुडे २०८३ साउन १० गते १७:३८ मा प्रकाशित

काठमाण्डू, १० साउन– बैतडीमा मलामी नहुँदा जलाउन नसकेपछि गाडिएको शव ५ दिनपछी नदी किनारमा भेटिएको छ । जिल्लाको पाटन नगरपालिका–५ स्याडीखोलामा शनिबार अपराह्न शव फेला परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जानएको छ ।

खोलाको किनारमा फेला परेको शव सोही वडाको सिमपानीकी ६२ वर्षीया लालमती कोलीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन ।

लालमतीको साउन ५ गते बिहान घरमै मृत्यु भएको थियो । अन्तिम संस्कारका लागि आवश्यक जनशक्ति नभएपछि शव जलाउन असम्भव भएको थियो । अन्ततः सामान्य दागबत्ती दिएर शव गाडियो। केही दिनपछि आएको वर्षासँगैको बाढीले त्यही शव बगायो ।

मृतकका आफन्त नरेश कोलीका अनुसार गाउँमा कोली समुदायका थोरै घरधुरी मात्रै छन् । रोजगारीका लागि स्थानीयहरू अधिकांश भारतमा रहेकाले अन्त्यष्टिका लागि मान्छेको अभाव भयो । शव बोक्ने चार जना मात्रै भएकाले दाउरा संकलन गर्ने र चिता तयार गर्ने जनशक्ति जुटाउन नसकिएको उनले बताए ।

त्यही बाध्यताका कारण शवलाई गाड्नुपरेको उनको भनाइ छ । उनका अनुसार गाउँमा लोकेन्द्र, रोशन, दिनेश र नरेन्द्र कोली मात्रै थिए । ‘हाम्रो गाउमा कोलीको ८–९ परिवार बस्छौं, यी मध्ये पनि धेरै त भारतमा छन् , शव बोक्ने हामी चार जना मात्रै थियौं, जलाउनको लागि दाउरा खोज्ने र बनाउने मान्छे नै भएन ।

सामान्य दागबत्ती दिएर गाडेका थियौं’ उनले भने । अन्य समुदायकाले कोलीहरूको शवलाई छुने चलन नरहेको नरेश बताउँछन् । नजिकै क्षेत्री, दलित परिवारको लुहार, ओड परिवारको बस्ती पनि छ, तर एकअर्काको मलामी जाने चलन नरहेको उनको भनाइ छ ।

‘हामी पनि एक अर्काको मलामी जाँदैनौं, उनीहरू पनि आउँदैनन्, पहिलेदेखि यस्तै चल्या छ,’ उनले थपे । त्यस क्षेत्रमा दलित समुदायका परिवारको पनि बसोबास गर्ने गरेको तर एक अर्काको मलामी जाने चलन नरहेको वडा न ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा बताउँछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us