मोबाइल नदिएको निहुँमा साथीको हत्या

काठमाण्डु टुडे २०८३ साउन १० गते १६:२३ मा प्रकाशित

काठमाण्डू, १० साउन– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या भएको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन ।

जन्मदिन मनाउने क्रममा साथीहरु मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

उनले भने, ‘लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ, कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ ।’

जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए । साउन १ गत राति २ः ३० बजेसम्म लजिनका साथीहरु मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्राररम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ । हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो ।

नियन्त्रणमा लिएकाहरुलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us