काठमाण्डू, १० साउन– एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक कमजोरी स्वीकार्दै पार्टीमा अब वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन ।
केही समयअघिसम्म नेतृत्वको रक्षामा खरोरूपमा उत्रिने गरेका पोखरेलले आज (आइतबार) लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आत्मालोचना गरेका हुन । उनले भने, ‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन, अब वैचारिक पुनर्गठनको आवश्यक छ ।
आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन । पार्टी जीवनमा सवैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा छ’, पोखरेलले भने । उनले पार्टी शुद्धीकरणसहितको रूपान्तरणमा जोड दिएका छन । एमाले महासचिव पोखरेलले भने, ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेशिएका श्रमजीवि वर्ग पनि हाम्रो साथमा रहेनन् ।
पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गरे, ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँगाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् ।
त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्यो ।’ महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको वृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न तयार रहेको बताए । सामाजिक सञ्जालबाट गलत भास्य बनाइएका कारण एमालेले गरेका राम्रा कामको पनि नकारात्मक प्रचारमात्र बढेको पनि उनले बताए । ‘एउटा समय हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था आयो । सहरिया, नवयुवा, विदेश बसेका र सुकुमुबासी हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिशन ग्रासरूट चलायौँ र सफल भयो ।
तर युवालाई जे गर्ने भनेका थियौँ, त्यो भएन । हामी असफल भयौँ, ‘युवा केन्द्रित कार्यक्रम भए तर प्रभावकारी भएन । समस्या पहिचान पनि भएको हो । समग्रतामा हामीले समीक्षा नगरी भएन भन्ने हो ।’ समस्या के हो ? जनताको मनोभावना किन वुझिएन ?
र प्रतिस्पर्धा कोसँग कसरी गर्ने भन्ने विषयमा कमजोरी भएको पोखरेलले स्वीकारे । ‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौँ तर वर्ग संघर्षलाई हामीले वुझ्न सकेनौँ, सीडीओ र राम्रो हाकिम खोज्दै हिड्यौँ । हामी जनताबीच जाने हैन, जनता हामीकहाँ आउने बनायौँ । यो कार्यशैली उल्टो भयो ।
हामी सत्तामुखी भयौँ, जनतामुखी भएनौँ’ उनले भने । कांग्रेसले नचाहेकाले प्रदेशमा नेकपासँग गठबन्धन बाध्यताको परिणाम भएको उनको प्रष्टीकरण छ । आफूहरू कांग्रेससँगै मिल्ने पक्षमा भएपनि कांग्रेसकै आन्तरिक असहमितले त्यो हुन नसकेको पनि उनले बताए ।
महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्याउन कांयर्कतालाई निर्देशन समेत दिएका छन ।