काठमाण्डू, १३ चैत- नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक क्षेत्र सुधारका लागि आवश्यक नीतिगत परिवर्तनलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार सपथ ग्रहणपछि अर्थ मन्त्रालयमा पदबहाली गर्दै उनले विगतमा २०५० को दशकमा सुरु गरिएका आर्थिक सुधारका प्रयासलाई अब दोस्रो चरणमा प्रवेश गराउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार सुशासन, सेवा प्रवाहमा सुधार र आर्थिक पुनरुत्थान सरकारका प्रमुख प्राथमिकता रहनेछन् ।
उनले परिणाममुखी काममार्फत नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्न सक्ने वातावरण बनाइने बताए । सुशासनको विषयमा कडाइका साथ अघि बढ्ने संकेत गर्दै उनले कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको इमानदार कार्यान्वयन अनिवार्य रहेको उल्लेख गरे ।
‘घुस नदिनुपर्ने र लामो लाइन बस्न नपर्ने अवस्था सिर्जना गर्नुपर्छ,’ वाग्लेले भने, ‘सेवा प्रवाह सुधार सरकारको मुख्य एजेन्डा हो ।’
कर्मचारीतन्त्र सुधारतर्फ ध्यान दिँदै उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र जिम्मेवारी पूरा नगर्नेप्रति कडा कदम चालिने स्पष्ट पारे । साथै, प्रशासनलाई दलीय प्रभावबाट मुक्त गर्दै निष्पक्ष प्रणाली विकासमा जोड दिइने उनले बताए ।
पूर्वाधार विकास, विशेषगरी हवाई तथा स्थलगत कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखिनेछ। न्यून र मध्यम आय भएका नागरिकलाई केन्द्रमा राखेर नीति निर्माण गरिने पनि उनले जानकारी दिए ।
प्रवासी नेपालीको लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाइने बताउँदै उनले डायस्पोरालाई आर्थिक विकाससँग जोड्ने रणनीति अघि बढाइने उल्लेख गरे । स्वदेशी उद्यमशीलताको प्रवर्द्धन र प्रशासनिक डिजिटाइजेसनलाई पनि प्राथमिकता दिइने उनले स्पष्ट गरे ।
निजी क्षेत्रको आत्मविश्वास बढाउन कानुनी तथा व्यवहारिक समस्याहरू पहिचान गरी समाधान गरिने उनको भनाइ छ । ठूला आयोजनाहरूका लागि एकीकृत कानुन ल्याउने सम्भावना औंल्याउँदै आवश्यक कानुन निर्माण तथा संशोधनलाई द्रुत गतिमा अघि बढाइने उनले बताए ।
आगामी नीतिहरू तथ्यमा आधारित हुने र विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिइने उनले उल्लेख गरे । संसद र संसदीय समितिलाई प्रभावकारी बनाउँदै विधायिकी कार्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सरकारले सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्यसहित काम गर्ने उनले बताए ।