दशैं–तिहार जस्ता चाडपर्व रक्सी पिउनेहरूका लागि राम्रो बहाना बन्ने गरेका छन्। रक्सीले पार्ने नराम्रो असर त छँदैछ, दशैंमा खाइने चिल्लो, तारेको, पोलेको, भुटेको परिकार, नुनिलो जङ्क फूड र बट्टामा राखिएका खानेकुराले हाम्रो शरीरलाई थप नराम्रो असर पार्छन्।
अत्यधिक बोसो तथा चिल्लोयुक्त पदार्थ सेवन गर्ने र व्यायाम पनि नगर्नेको रगतमा कोलेस्टरल (बोसो) को मात्रा बढ्छ। रक्तवाहिनी नलीमा अतिरिक्त कोलेस्टरल जम्मा हुँदा रगत बग्ने बाटो अवरुद्ध हुन जान्छ। मुटुमा रगत पुर्याउने नली थुनिंदा हृदयघात हुन्छ भने मस्तिष्कमा रगत लैजाने नली अवरुद्ध हुँदा मस्तिष्कघात हुन्छ।
मदिराका असर
अधिक मदिरा सेवनले शारीरिक सन्तुलन गुम्ने, नजिक टाढाको अनुमान लगाउन र कुनै चिज ठम्याउन गाह्रो हुने, बेहोश हुने तथा मृत्यु समेत हुन सक्छ। सर्वसाधारण मात्रै नभएर कतिपय चिकित्सकमा पनि रक्सी सेवनले एचडीएल नामक कोलेस्टरल बढाउने र घटाउने भएकाले मुटुलाई बचाउँछ भन्ने गलत धारणा छ। यथार्थमा रक्सी सेवनले कलेजो लगायत शरीरका अन्य अङ्गलाई हानि पुर्याउँछ।
रक्सीले शरीरको बाह्य भागको रक्तनलीलाई फुलाउने हुनाले शुरूमा ब्लडप्रेसर घटाउँछ तथा शारीरिक ताप नष्ट गराउँछ। त्यसैले विशेषतः जाडो मौसममा रक्सी सेवन अरू खतरनाक हुन्छ। मुटुको चाल घटबढ हुने, पाचन नलीमा सुजन, ग्यास्ट्राइटिस, अल्सर हुनुका साथै स्तन, खाद्यनली तथा आन्द्राको क्यान्सर पनि हुन सक्छ। मदिराले पुरुषमा नपुंसकता ल्याउने, अण्डकोष सुकाउने एवम् महिलामा महीनावारी गडबड गराउँदै हड्डी कमजोर बनाउँछ भने गर्भको शिशुलाई पनि हानि पुर्याउँछ। रक्सी सेवन गर्दा कलेजो, प्यान्त्रि्कयाज ग्रन्थी, मधुमेह, उच्च कोलेस्टरल, युरिक एसिड, मिर्गौला, क्यान्सर, अल्सर, मुटु सुन्निने, रगत पातलो हुने सम्भावना पनि बढी हुन्छ। निरन्तर रक्सी सेवन गर्दा मानिसको आयु २० वर्ष घट्छ।
रक्सीको मात्रा र असर
बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने जीन, भोड्का, ब्रान्डी र ह्विस्कीमा बढी हुन्छ। ४० वर्ष नाँघेका पुरुषले दैनिक एक बोतल बियर वा एक गिलास (२५० मिलि) वाइन वा ६० मिलि हार्ड ड्रिङ्क्स् लिंदा त्यति फरक पर्दैन। तर, दैनिक योभन्दा बढी पिउनुहुँदैन।
मदिरा सेवन गरेको व्यक्तिको व्यवहार रगतमा हुने अल्कोहलको मात्रा अनुसार फरक हुन्छ। १०० मिलिलिटर रगतमा ३० मिलिग्राम अल्कोहल हुँदा खुशी हुने, ५० मिलिग्राम अल्कोहल हुँदा सामान्य हिंडडुलमा गडबडी आउने र १०० मिलिग्राम हुँदा देखिने गरी खुट्टा लरबरिने हुन्छ। त्यस्तै सोही परिमाणको रगतमा २०० मिलिग्राम अल्कोहल भएमा बिर्सने, ३०० मिलिग्राम अल्कोहल भएमा ढल्ने र ४०० मिलिग्राम अल्कोहल भएमा मानिस गहिरो निद्रामा पर्ने तथा मृत्युसमेत हुन सक्छ।
कहिले र कसरी पिउने
रक्सी पिउने बानी लागेको छ भने पनि हरेक दिन तथा धेरै पिउनुहुँदैन। किनभने, सधैं र धेरै पिउँदा नकारात्मक असर पर्छ। मदिराको असर कहिलेकाहीं धेरै पिउनेलाई भन्दा नियमित पिउनेलाई बढी हुन्छ। निट भन्दा पानी वा सोडा मिसाएर पिउँदा कम असर पर्छ।
एक युनिट रक्सी शरीरबाट निखि्रन करीब एक घण्टा लाग्छ, त्यसैले पिउनेहरूले धेरै समय लगाएर पिउनुपर्छ। आन्द्राको रक्सी सोस्ने प्रक्रिया खानेकुराले घटाइदिने हुनाले बढी स्न्याक्स खानु राम्रो हुन्छ।
लतको उपचार
रक्सी सेवनकर्तामा अन्य मेडिकल समस्या आएमा, उपचार गर्न गाह्रो भएमा र मानसिक समस्या देखिएमा अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्छ।
लत छुटाउन चाहनेलाई अस्पतालको शान्त कोठामा आराम गराई थायमिन, डेक्सट्रोज, बेन्जोडायजेपिन समूहको औषधि दिनुपर्छ। कतिपय औषधिले रक्सीको चाहना घटाउँछन्। योग, ध्यान गराई आत्मनियन्त्रण गर्ने खुबी पनि विकास गराउनु उपयुक्त हुन्छ। रक्सीको लत लागेकालाई व्यक्तिगत तथा समूहमा मनोगत सरसल्लाह (साइकोथेरापी) दिएर घर, समाज तथा रोजगारीमा पुनर्स्थापित हुने मौका दिनुपर्छ।
साभार- हिमालखबर साप्ताहिकबाट