दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु

काठमाण्डु टुडे २०८२ फागुन ९ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु लगाएको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत पुनः दुई समुदायबिच झडप भई अवस्था तनावग्रस्त बनेको हो। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गा–मुढा सुरु भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us