काठमाण्डू, ८ फागुन– अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाण्डू प्रहरीको हिरासतमा रहेका छन ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए । प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान जारी राखेको छ ।
पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा ‘कनेक्सन’ देखिएको छ । अधिकारी अहिले भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय डिल्लीबजारमा छन् । अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितातबारे आफुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई ‘प्रयोग’ गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
ती अधिकृत भन्छन्, ‘यसमा केही रकम लेनदेन भएको देखिन्छ, हामी पुष्टि गर्ने प्रक्रियामा छौँ ।’ प्रहरीसँगका बयानमा पनि पाठकले प्रदीप अधिकारीसँगको सम्पर्कबारे खुलाएका छन् । पाठकको बयान प्रमाणित भइसकेको छैन । पाठकले धम्क्याएर सामाखुसी स्थित एक डेन्टल कलेज सञ्चालकसँग पनि ५ लाख नगद लिएको भेटिएको छ ।
ती कलेज सञ्चालकले प्रहरीमा जाहेरी दिएका छैनन् । अनुसन्धान अधिकृतहरूका अनुसार पाठकले विभिन्न देशमा पुगेर धम्की दिँदै २ करोड भन्दा धेरै रकम असुलेको भेटिएको छ ।