सुकुमवासी समस्या समाधान मेरो प्राथमिकतामा छः शेखर कोइराला

काठमाण्डु टुडे २०८२ फागुन ८ गते १२:४३ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ–६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कांग्रेस विराटनगर–६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुमवासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको पनि बताएका छन ।

कांग्रेस नेता कोइरालाले आफूले सुकुमवासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधि स्वयं बस्तीमै आएर स्थानीयका समस्या सुन्ने वातावरण बनाइने पनि बताएका छन । नेता कोइरालाले भने, ‘म तपाईंहरूको पीडा र समस्या नजिकबाट बुझेको छु। आयोगका सदस्यसँग कुरा भएको छ। उहाँ यहाँ आउनुहुन्छ, तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको काम अघि बढ्छ ।’

सुकुमवासीलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाइने उनको दाबी थियो । उनले अर्को महत्वपूर्ण एजेन्डाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारे । चक्रपथ निर्माण नहुँदा शहरको विकासले अपेक्षित गति लिन नसकेको पनि उनले बताए ।

‘चक्रपथ बनेको भए वडा– ६ र ४ को स्वरूप नै फरक हुन्थ्यो। व्यापार, आवागमन र पूर्वाधार विकासमा ठूलो परिवर्तन आउँथ्यो, तर दुर्भाग्यवश काम अघि बढेन,’ उनले उल्लेख गरे । यसपटक आफू निर्वाचित भए चक्रपथ निर्माणलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा समन्वय जुटाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

वडा– ६ भित्रको कालोपत्रे सडक निर्माण सम्बन्धी विषयमा बोल्दै उनले ठेक्का लागिसके पनि ठेकेदार फरार हुँदा काम अलपत्र परेको बताए । निर्वाचनपछि उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने उनले आश्वासन दिए । उनले भने, ‘काम सुरु भएर पनि अधुरो रहनु दुःखद हो। अब यस्तो ढिलाइ हुन दिइँदैन ।’

त्यसका लागि कांग्रेसलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरे। यसैगरी, वडा– ६ नजिकै रहेको सुकुमवासी बस्ती क्षेत्रमा अस्पताल स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

करिब दुई वर्षअघि नै सो क्षेत्रमा अस्पताल निर्माणका लागि जग्गा छुट्याइएको उल्लेख गर्दै उनले अब त्यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए । स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अत्यन्त आवश्यक रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us