काठमाण्डू, ७ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि उनले बताएकी छन ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ ।’
अगाडि उनले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन ।
त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।’ प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको पनि बताइन् ।
निर्वाचनले ‘नयाँ युगको ढोका उघार्ने’ भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको जानकारी दिइन् ‘निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौं’ उनले भनिन् ।