प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८२ फागुन ७ गते ८:३६ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन ।

आज (बिहिबार) राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस्तो कामना गरेका हुन । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना गरेका छन् । पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अनुरोध समेत गरेका छन ।

विसं २००७ को क्रान्ति सफल भई निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us