राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

काठमाण्डु टुडे २०८२ माघ ३ गते २०:०५ मा प्रकाशित

काठमाण्डू, ३ माघ– कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने निर्णय गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँग भएको सहमति के हुने भन्ने चासो थियो ।

यसैबीच कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न नहुने जानकारी दिए । उनले भने,‘अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति हो । राष्ट्रियसभा निर्वाचन लाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन, ‘राष्ट्रिय सभा सदस्यको लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं ।’

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नेछन् । बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us