काठमाण्डू, २७ जेठ– संसद्को गतिरोध अन्त्यका लागि सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन ।
एमाले सचेतक महरले भने, ‘अहिले हामी विपक्षी दल सभामुखसँगको छलफलमा छौँ, ‘रास्वपा सभापतिसँगको छलफलमा सहमति जुट्न सकेन ।’ यसअघि गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबिच करिब २ घण्टा बढी छलफल भएको थियो ।
लामिछानेसँगको छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए ।
तर, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीका तर्फबाट भन्दा पनि परराष्ट्रमन्त्रीले आफ्नै तरिकाले जवाफ दिने बताएका थिए । त्यसमा विपक्षीहरू सहमत हुन सकेका छैनन् ।
जसका कारण आज ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी २ सम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । २ बजेको बैठक पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।