काठमाण्डु, ५ असोज– बेलायत सरकारले उसकै शब्दमा ‘अध्यागमन नियमको परिधी नाघ्ने’ बेलायतस्थित ३८ कलेजको लाइसेन्स खारेज गरिदिएको छ ।
गत २४ जुनमा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र (टोइक) लिएर क्यास जारी गरेको अभियोगमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्बन गरिएको घोषणा संसदबाटै गरेका थिए ।
निलम्बितमध्ये ३८ निजी कलेजले लाइसेन्स गुमाएको शुक्रबार जारी सूचनामा उल्लेख छ । लाइसेन्स गुमेसँगै ती कलेज सदाका लागि बन्द भएका छन् ।
बन्द गरिएका कलेजले वास्तविक विद्यार्थी भर्ना नलिएको, बेलायतको अध्यागमन नियम एवं विद्यार्थीको स्पोन्सरसीप जिम्मेवारी पूरा नगरेको निष्कर्ष सरकारको छ । सरकारको निर्णयबाट नेपालीसहित हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी पीडित हुने चिन्ता छ ।
होमअपिस अन्तर्गत यूके भिजा एण्ड इमिग्रेसनले लाइसेन्स खारेज भएको कलेजमा अध्ययनरत विद्यार्थीलाई साठी दिनभित्र अर्को शैक्षिक संस्थान खोज्न वा स्वदेश फर्कन भनेको छ ।
बाहिरबाट अध्ययन गर्न तयार विद्यार्थीलाई युके प्रवेश गर्न नदिइने र निवेदन दिइसकेको भए अर्को निर्णय नभएसम्म प्रक्रिया स्थगित हुने जनाएको छ । कान्तिपुर दैनिकबाट