एजेन्सी– कमजोर रोग प्रतिरोधात्मक प्रणाली भएका एक व्यक्ति लगातार ७५० दिनसम्म कोभिड–१९ संक्रमणबाट ग्रसित भएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन ।
यो विश्वमा कुनै पनि व्यक्तिमा भएको अहिलेसम्मकै लामो कोरोना संक्रमण हो । अमेरिकी शोधकर्ताहरुले गरेको नयाँ शोध अनुसार नाम नखुलाइएका ती व्यक्तिमा भएको संक्रमण यद्यपि दीर्घकालीन कोभिड अर्थात् लंग कोभिड थिएन । कोरोना भाइरसको सक्रिय चरण नै उनको शरीरमा २ वर्षसम्म चलिरह्यो । उनलाई श्वासप्रश्वासका लागि लगातार कठिनाइ उत्पन्न भैरह्यो र पाँचपटक अस्पताल भर्ना हुनुपर्यो । शोधकर्ताले यस्तो लामो संक्रमण खतरनाक हुने चेतावनी दिएका छन् ।
किनकि लामो संक्रमणले गर्दा भाइरसमा खतरनाक म्युटेसन अर्थात् उत्परिवर्तन हुनसक्छ । द लेन्सेट जर्नलमा प्रकाशित समाचार अनुसार ४१ बर्षका ती व्यक्ति एचआईभी १ बाट समेत संक्रमित थिए । सन् २०२० को मध्यतिर उनलाई कोभिड भाइरस संक्रमण थपियो । त्यसबेला उनले एचआईभी विरुद्धको एन्टी रेट्रोभाइरल थेरापी लिइरहेका थिएनन् र चिकित्सा स्याहार पनि पाइरहेका थिएनन् ।
जसका कारण कोभिड संक्रमण उनलाई भारी पर्यो । उनलाई श्वास फेर्न समस्या हुने, टाउको दुख्ने, जीउ दुख्ने तथा शरीर कमजोर हुनेजस्ता लक्षण देखिए । उनको रोग प्रतिरोधी प्रणालीको कमजोरीको मुख्य कारण चाहिँ CD4 T कोशिकाको संख्यामा कमी आउनु थियो ।
सामान्य व्यक्तिमा ती कोशिका प्रति माइक्रोलिटर रगतमा ५ सयदेखि १५ सयसम्म हुनेमा उनको रगतमा भने जम्मा ३५ मात्र थिए । जसका कारण उनको शरीरबाट भाइरस बाहिर निस्किन सकेन र झण्डै २ वर्षसम्म शरीरभित्रै भाइरस सक्रिय रह्यो ।
सन् २०२१ के मार्चदेखि सन् २०२२ को जुलाइसम्म उनको शरीरबाट लिइएका भाइरसका नमूनाहरुको जेनेटिक विश्लेषणबाट उनको सरीरभित्र उक्त भाइरस निरन्तर उत्परिवर्तन भएको देखिएको छ ।
बोस्टन विश्वविद्यालयका शोधकर्ता जोसेलिन भेलास्क्वेज रेयेसको टोलीले गरेको अध्ययनका क्रममा बिरामीको शरीरभित्र भाइरसको उत्परिवर्तनदर सामुदायिकस्तरमा हुने उत्परिवर्तन जस्तै रहेको देखिएको थियो ।