डेरामा बस्नेलाई लक्षित गर्दै सस्ता घर

काठमाण्डु टुडे २०७१ असोज २ गते ४:५२ मा प्रकाशित

पोखरा, २ असोज– भाडा तिर्दातिर्दा हैरान हुनुभएको छ। केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पूरा हुन सक्छ । आवासका लागि gharसहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवाज परियोजना सुरु गर्दैछ ।

पोखरा—१७ सीतापाइला र बिरौटामा सस्तो आवासको परियोजना सुरु हुन लागेको हो। लुमन्तीले धमाधम डेरावालहरुको आवेदन संकलन गरिरहेको छ । यी दुई ठाउँमा गरी १ सय ६५ वटा घर बनाउने लुमन्तीको योजना हो। ‘अहिले आवेदन बटुलिरहेका छौं’, फिल्ड संयोजक सन्तोष जिसीले भने, ‘दसैंतिहारको बीचतिर घर बनाउन सुरु गर्छौं ।
कम्तीमा पनि ५ वर्ष पोखरामा डेरामा बसेका व्यक्तिलाई प्राथमिकता दिइने लुमन्तीका प्राविधिक गणेश पुनले जानकारी दिए । त्यसमा पनि पहिलो कास्की र त्यसपछि पश्चिमाञ्चलका व्यक्ति र त्यसपछि अन्तकालाई प्राथमिकता दिइने जनाइएको छ।
सस्तो आवास चाहनेले कम्तीमा पनि साढे २ आना जग्गा खरिदका लागि ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ । त्यतिमा जग्गा किनेर आफ्नो बनाइसकेपछि घर बनाउने खर्च लुमन्तीले लक्ष्मी बैंकबाट सस्तोदरको ब्याजमा ऋण उपलब्ध गराउँछ । ब्याज ८ प्रतिशतमात्रै हुन्छ । ‘त्यो दरमा प्रत्येकलाई ४ लाख रुपैयाँ ऋण झिकाएर सबै एकदरे घर बनाउन हामी सघाउँछौं, जिसीले भने ।

ऋणको किस्ता मासिक ६ हजार ३ सय ५० का दरले ७ वर्षसम्म तिरे पुग्ने उनले जनाए । संस्थाले सीतापाइला र बिरौटामा जग्गा हेरिसकेको छ । इच्छुक आवेदकहरुलाई बिक्रेतासँग सिधैं डिल गरेर किन्ने वातावरण पनि संस्थाले बनाइदिने जिसीले जानकारी दिए। ‘कम्तीमा साढे २ आना जग्गा ५ लाख र त्योभन्दा बढीलाई धेरै मूल्य पर्नसक्छ,ु उनले भने, ‘बिक्रेतासँग सिधैं डिल गरेर घटाउन सक्नेले घटाउन पनि सक्नुहुन्छ ।  जग्गा किनेपछि लुमन्तीको सिफारिसको आधारमा लक्ष्मी बैंकले तुरुन्तै ऋण दिने उनले बताए । सेवाशुल्क लगायत झन्झट बिनै ऋण पाइने उनले जानकारी दिए ।
उनका अनुसार लक्ष्मी बैंकमार्फत सस्तो ब्याजदरको ऋण उपलब्ध गराउन लुमन्तीले ५ करोड ५८ लाख रुपैयाँ परिचालन कोशमा जम्मा गरेको छ । सोही रकमको आधारमा सस्तो ब्याजमा ऋण उपलब्ध गराउन सकेको उनले बताए । संस्थाले आवास बनाउनेमध्येका परिवारलाई सीपमूलक तालिम दिने र आवास क्षेत्रका लागि आवश्यक ढल, बायोग्यास लगायत केही पूर्वाधारमा लगानी गरेरसमेत सघाउने गरेको छ ।
यसअघि लुमन्तीले पोखरा—१४ मा ७५ परिवारलाई सस्तो आवाज उपलब्ध गराइसकेको छ। अर्को ठाउँ सुन्दर टोलमा पनि ३० घर बनिसकेका छन् । लुमन्तीले सहजीकरण गर्ने र समुदाय आफैंले अगुवाइ गर्ने गरी आवास परियोजनाको अवधारणा ल्याइएको जिसीले जानकारी दिए। साढे दुई आना जग्गामा ४ सय ५५ वर्ग फिटको घर बनाउँदा अगाडि पार्किङ र पछाडि १० फिट चौडाइ र २० फिट लम्बाई बराबरको जग्गा बाँकी हुने समावेशी टोल विकास संस्थाका अध्यक्ष माधव बरालले जानकारी दिए ।
लुमन्तिका प्राविधिकि सहायक गणेश पुनका अनुसार आवासका घर बनाउँदा जगदेखि नै ४२ वटा रड प्रयोग गरिन्छ भने भित्तामा आठ इन्चको ब्लक प्रयोग हुन्छ  । ढलानसहित साढे दुईतलासम्म घर बनाउन सकिने छ । तीन कोठा, ट्वाइलेट, बाथरुम, बरन्डा रहेको घर त्यो पनि भूकम्प प्रतिरोधात्मक हुने पुनले जानकारी दिए  । संस्थाको डिजाइनअनुसार घरको बीच कोठाको छाना ढलान हुन्छ भने दुई कोठामा जस्ताको छाना राखिन्छ ।
सस्तो आवास कार्यक्रममा कुनै पनि नगरपालिकामा आफ्नो स्वामित्वमा घर जग्गा नभएका, कर्मचारी, सरकारी, गैरसरकारी, विद्यालय तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, सञ्चारकर्मी, अदक्ष रुपमा वैदेशिक रोजगारमा गएका कामदार, साना खुदा व्यापारी, यातायात, औद्योगिक क्षेत्र तथा निर्माण कार्यमा कार्यरत मजदुर, एकल महिला, अपांग र द्वन्द्व पीडितलाई प्राथमिकता दिइएको छ ।
सस्तो आवास परियोजनामा लुमन्तीबाहेक होमलेस इन्टरनेसलन युके र पोखरा उपमहानगर पालिकाको पनि सहकार्य छ । आवास क्षेत्रमा पूर्वाधार निर्माणमा नगरपालिकाले सघाउने गरेको छ । पोखरा–१४ चाउँथेको समावेशी टोलमा ढल लगायत पूर्वाधार निर्माण गर्दा स्थानीयले २० प्रतिशत राखेपछि नगरपालिकाले ८० प्रतिशत बजेट खर्च गरेको थियो ।
आवास परियोजना सुरु भइसकेपछि त्यसको सञ्चालन स्थानीय समुदायले नै गर्ने वातावरण लुमन्तीले बनाउँदै आएको छ । यो संस्थाले पोखराबाहेक मुलुकका अरु सहरमा पनि सस्तो आवास परियोजना सञ्चालन गरेको छ ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us