तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँः दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०८२ भदौ २ गते १५:१२ मा प्रकाशित

काठमाण्डू, २ भदौ– केहि समय अधिमात्रै डिल्लीबजार कारागारबाट छुटेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ मा काठमाण्डूको तीनकुने घटनाबारे पहिलोपटक मुख खोलेका छन ।

उनले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् । उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको जानकारी गराए ।

उनले भने, ‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ, ‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’

त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले जानकारी गराए । उनले भने, ‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ ।’ त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताएका छन् ।

साथै, उनले उपत्यकामा कर्फ्यु लाग्दा काठमाण्डू उपत्यका छाडिसकेको पनि बताएका छन् । उनले भनेका छन, ‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ ।

म कर्फ्यु लाग्दा काठमाण्डू उपत्यका छाडिसकेको थिएँ, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो । त्यही भएर मदन भण्डारीलाई मारियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us