विकास र समृद्धिका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ भदौ २ गते १४:५० मा प्रकाशित

काठमाण्डू, २ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे ब्रिफिङ लिएका छन् ।

सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानसहितसँग सोमबार ब्रिफिङ लिएका हुन् ।

नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) नीति, ०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समयसापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृहकार्य सुरु गरेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट) ढाँचामा तयार गरिएको छ । उक्त प्रस्तावमा डिजिटल इकोसिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रूपान्तरणको अवधारणा समावेश गरिएको छ । प्रस्तावित नयाँ ढाँचामा यसअघि समाविष्ट कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन, वित्त, सुशासनका साथै अहिले सामाजिक सुरक्षा, विपद् र जलवायु परिवर्तनका क्षेत्र थप गरिएको छ ।

यसको कार्यान्वयनका क्रममा डिजिटल नेपालको प्राथमिकता निर्धारण, अनुगमन र प्रतिवेदनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रूपान्तरण परिषद् प्रस्ताव गरिएको छ । उक्त नयाँ फ्रेमवर्क मन्त्रिपरिषद्बाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us