भारतीय विदेशसचिवले जंगीअड्डा पुगेर प्रधानसेनापति गरे भेटवार्ता

काठमाण्डु टुडे २०८२ भदौ २ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, २ भदौ– दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन । आज (सोमबार) बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेटवार्ता गरेका हुन ।

भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाण्डू आइपुगेका थिए ।

आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् । सोमबार केही अनौपचारिक भेटपछि दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us