काठमाण्डू, १ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ ।
‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ। एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छʼ, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
उनले नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको पनि बताएका छन । दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उनले बताएका छन ।
भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएको उनको भनाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो ।
साथै, विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे।