काठमाण्डू, १ भदौ– प्रहरीले काठमाण्डू महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाण्डू ल्याउँदैछ । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।
बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लगेर हत्या गरेपछि बक्स पलङमुनि लुकाएर फरार भएका थिए । घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ समेत दिएका थिए ।
तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका हुन् । उनलाई पक्राउ गरेर काठमाण्डू ल्याइँदै गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिएका छन ।