विदेश जाने यात्रु कम्तिमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने

काठमाण्डु टुडे २०८२ भदौ १ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, १ भदौ– अब विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तिमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ ।

अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तिमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन । उनले भने, ‘विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेछ, ‘अन्तिम समयमा जाँच डेस्क अफिसरलाई समेत चेकजाँच गर्न कठिनाइ हुने हुँदा यसमा कडाइ गरिएको हो ।’

अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।

विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिम समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ ।

विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो मामिलामा पक्राउ परेपछि नेतृत्वमा नयाँ सहसचिव पठाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us