काठमाण्डू, २३ साउन– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्रमन्त्री मित्रराष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन ।
सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको परराष्ट्रमन्त्री डा.राणाले जानकारी दिइन ।
परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन, ‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’। उनले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छन् ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । हालसम्म कम्तिमा २२ नेपाली सम्पर्क विहीन भएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।