काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटवार्ता गरेका छन ।
पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेट्न अध्यक्ष भट्टराई भैरहवा कारागार पुगेका हुन ।
भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताएका छन । लामिछाने निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको उनले बताउ । ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो’ भट्टराईले भने ।
रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताएका छन । लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताएका छन ।
‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो ।’
‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’ जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको भट्टराईले बताए ।