काठमाण्डू, २२ साउन– प्रहरीले सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेको प्रहरीले जानकारी दिएको ।
उनलाई काठमाण्डूबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले जानकारी दिएका छन । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।
पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए । त्यसको करिब १० दिनपछि उनी काठमाण्डूको कलंकीमा आइपुगे ।
भारतबाट आउने गाडीमा काठमाण्डू आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे । घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाएका थिए । अनि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।