काठमाण्डू,२२ साउन– झापामा छोरा र छिमेकीले रातभर रुखमा बाँधेर गरे वृद्धको हत्या गरेका छन । झापा गाउँपालिका– १ लसुनाका ६० वर्षीय जतन सोरेनको परिवार र गाउँलेले रातभर रुखमा बाँधेर हत्या गरेका छन् ।
२७ वर्षीय छोरा अनतलालसहित छिमेकीले रातभर रुखमा बाँधेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । सोरेनलाई मंगलबार राति साढे १० बजे छिमेकीले आँपको रुखमा बाँधेका थिए ।
बिहान ४ बजे हेर्दा उनको मृत्यु भइसकेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिएका छन । मदिरा सेवन गरेका सोरेन छिमेकी महादेव टुडुको घरनजिकै गल्लीमा पुगेर काँप्न थालेका थिए ।
काँप्न थालेपछि टुडुको घरछेउमा रहेको आँपको रुखमा स्थानीयले डोरीले बाँधेर रातभर राखेको र त्यही कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयल झापाले जानकारी दिएको छ ।
सोरेनलाई बाँधेर हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा अनतलाल, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखीराम टुडू र २१ वर्षीय लखीराम टुडूलाई पक्राउ गरेको छ ।
घटनामा अन्यको पनि संलग्नता हुन सक्ने खड्काको भनाइ छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।