काठमाण्डू, २१ साउन– संघीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल एमाले र कांग्रेस बाहेकका दलहरूको बैठक जारी छ । बैठक सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी रहेको एक नेताले जानकारी दिए ।
बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
बैठकको सञ्चालन गर्दै ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन आवश्यक रहेकाले बैठक बोलाइएको जानकारी गराएका छन् ।
बैठकमा माओवादी केन्द्रसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ ।