बहुविवाहलाई वैधता दिने चर्चा झुटोः कानुनमन्त्री चौरसिया

काठमाण्डु टुडे २०८२ साउन २१ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, २१ साउन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नमा जवाफ दिँदै मन्त्री चौरसियाले यस्तो बताएका हुन ।

उनले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको पनि बताएका छन । उनले भने, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको छ । तर, कानुन मन्त्रालयले विद्यमान प्रावधानलाई संशोधन गरेर ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार भएको समाचार प्रकाशन भएपछि आलोचना भइरहेको थियो । यसबारे सदनमा पनि कुरा उठेपछि कानुनमन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधन नगरिने बताएका हुन् ।

‘सामाजिक व्यवस्था नै खलल गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन, नेपाल सरकार मन्त्रिपरिषद्को विधायन समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको र यस विषयमा माननीय सांसदज्युहरुले चासो व्यक्त गरी सम्मानित सभामा उठाउनुभएका विषयहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us