डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

काठमाण्डु टुडे २०८२ असार २५ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबामा पनि जोडीएको खुलेको छ ।

आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो ।

रकम बरामद भएपछि अनुसन्धान गर्ने क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताएको स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी अपिलराज बोहोरा भन्छन्, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो ।

तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो ।’ प्रहरीले हुण्डी कारोबारबाट त्यो रकम आएको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्र भिजिट भिसामा काठमाण्डू आएका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनले विजनेस भिसामा परिणत गर्ने तयारी समेत गरिरहेको सुनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us