
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पनि पास भएको छ । अमेरिकी राष्ट्रिय राजनीतिमा यसलाई ट्रम्पको ठूलो जितका रुपमा लिएका छन ।
हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन)ले बिहीबार दिउँसो २१८ विरुद्ध २१४ मतले यो विधेयक पारित गरेको हो । त्यसअघि मंगलबार सेनेट (माथिल्लो सदन) मा यसले अनुमोदन पाइसकेको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कंग्रेसलाई ४ जुलाईसम्म हस्ताक्षर गरेर यो विधेयकलाई कानुन बनाउने समयसीमा दिएका थिए । कंग्रेसको बजेट कार्यालयले यो विधेयकका कारण आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलरले बढ्न सक्ने अनुमान गरेको छ । त्यस्तै, यसबाट लाखौं मानिसहरू स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि ह्वाइट हाउसले यस दाबीलाई अस्वीकार गरेको छ । विधेयक पारित भएपछि बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो विधेयकले देशलाई तीव्र गतिमा अगाडि बढाउनेछ।’ उनले थपे, ‘यो देशका लागि एक उत्कृष्ट विधेयक हुनेछ।’