अमेरिकाले इरानको आणबिक केन्द्रहरुमा बम खसाल्यो

काठमाण्डु टुडे २०८२ असार ८ गते ७:५३ मा प्रकाशित

काठमाण्डू, ८ असार– अमेरिकाले पनि इरानमाथि बम हमला गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत इरानी न्युक्लियर परियोजनामा बम हमला गरेको जानकारी दिएका हुन् । उनका अनुसार फर्दो, नतान्ज र इस्फाहानको आणविक भट्टीमा अमेरिकाले बम खसालेको छ ।

ट्रम्पले तीनवटै महला सफल भएको दाबी गरे । बम आक्रमणमा संलग्न सबै विमान सुरक्षित घर फर्किसकेका भन्दै उनले ‘बहादुर अमेरिकन योद्धाहरूलाई बधाई’ भनेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर परियोजनामा हमला गरेको जनाएका छन् । ट्रम्पले इरानलाई आणबिक हतियारसम्बन्धी कार्यक्रम स्थगनका लागि वार्तामा आउन दुई साताको अल्टिमेटम दिएका थिए ।

इजरायलले गत शुक्रबार इरानमाथि हमला गरेपछि दुई मुलुकबीच भीषण युद्ध जारी छ । इजरायलले इरानको परमाणु कार्यक्रम नष्ट गर्ने कार्यमा सघाउन अमेरिकालाई आग्रह गरेको थियो ।

इरानले भने अमेरिकाले आक्रमणमा इजरायललाई सहयोग गरे मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरुमा हमला गर्ने चेतावनी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us