युक्रेन र रुसबिच सबैभन्दा ठुलो कैदी आदानप्रदान

काठमाण्डु टुडे २०८२ जेठ १० गते १५:५० मा प्रकाशित

एजेन्सी– सन् २०२२ मा रुसी सैन्य अभियान सुरु भएयता युक्रेन र रुसबिच अहिलेसम्मकै सबैभन्दा ठुलो कैदी आदानप्रदान भएको खुलेको छ । दुवै देशले ३९० सैनिक र सर्वसाधारणलाई एकअर्कालाई हस्तान्तरण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

एक हप्ताअघि टर्कीमा सम्पन्न प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौता अन्तर्गत, दुई देशले बेलारुससँगको युक्रेनी सीमामा २७० सैनिक र १२० सर्वसाधारणलाई हस्तान्तरण गरेका हुन्। दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्न सहमति जनाएका छन् ।

आगामी दिनहरूमा थप आदानप्रदान हुने कुरा पुष्टि गरेका छन् । यद्यपि यसअघि धेरै पटक सानो स्तरमा कैदी आदानप्रदान भएका छन्, तर यति धेरै नागरिकहरू कहिल्यै संलग्न भएका थिएनन् ।

रुसी रक्षा मन्त्रालयले हस्तान्तरण गरिएका सैनिक र सर्वसाधारणमा हालैका महिनाहरूमा युक्रेनको आक्रमणको क्रममा रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेका व्यक्तिहरू पनि समावेश रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us