
काठमाण्डू, १० जेठ- पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयभित्र रहेको मन्दिरमा पूजाअर्चना गरेका छन् ।
शाह शनिबार साँझ पत्नी कोमल शाह, नाती हृदयेन्द्रसहित नारायणहिटी परिसरभित्रको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका हुन् ।
त्यस क्रममा राजा फर्काउने आन्दोलनका लागि ज्ञानेद्रद्वारा गठित समितिका सदस्य जगमान गुरुङ लगायत पनि सहभागी थिए । राजावादीहरुले गणतन्त्र दिवसका दिन जेठ १५ गतेबाट राजतन्त्र फर्काउन निर्णायक आन्दोलन गर्ने बताउँदै आएका छन् ।
विभिन्न समूहमा रहेका राजावादी समूहलाई ज्ञानेन्द्र शाह आफैंले मिलाएर एकजुट बनाएका छन् । केही दिनअघि मात्र उनले राजावादी नेताहरुसँग आफ्नै लगानीको होटल सोल्टीमा डिनर बैठक गरेका थिए ।