
काठमाण्डू, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
शनिबार बसेको रास्वपाको आकस्मिक भर्चुअल बैठकले गृहमन्त्री मानव तस्करीमा जोडिएको विषयमा गम्भीर आपत्ति जनाउँदै राजीनामा मागेको हो ।
लेखक पदमा बसिरहेर निष्पक्ष छानबिन सम्भव नुहने ठहर रास्वपाको छ । रास्वपाले गृहमन्त्री लेखकले नै मन्त्रीबारे प्रश्न उठेपछि राजीनामा दिनुपर्ने तर्क संसद बैठकमै उठाएको विषय राश्वपाले स्मरण गराएको छ ।
मानव तस्करीको जालोमा आफू र आफ्नो सचिवालय मुछिएको विषयमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने विगतको अभ्यास रास्वपाले सम्झाएको छ ।
“गम्भीर आरोप लाग्दा पदमा बसिरहनु अनुचित हुन्छ भन्ने मान्यता राख्दै आएका व्यक्तिले अहिलेको परिस्थितिमा त्यही मान्यता व्यवहारमा उतार्नुपर्छ”, रास्वपा सहप्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले यो मुद्दाका कारण संसदमा उत्पन्न हुनसक्ने अवरोधले देशको राजनीतिक प्रणालीप्रतिको जनविश्वास घट्ने सम्भावनाप्रति सचेत गराएको छ ।
रास्वपाले सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको हालैको आदेशलाई रास्वपाले कानुनी रूपमा स्वीकार गर्ने जनाएको छ । सर्वोच्चले शुक्रबार बुटवलको सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने तुलसीपुर उच्च अदालतको यअसघिको फैसलालाई सदर गरेको थियो ।