कैलाली, २२ भदौ – कैलालीमा नागरिकताको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिन खोज्ने १३ को नागरिकताको प्रमाणपत्र बदर गरिएको छ।
आर्थिक वर्ष २०७०र७१ मा जिल्लामा नागरिकताको दुरुपयोग गर्ने १३ को नागरिकताको प्रमाणपत्र बदर गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
कार्यालयको तथ्याङ्कअनुसार २०३६ सालयता विभिन्न समयमा नागरिकता बनाएर दुरुपयोग गरिरहेको भन्दै उजरी परेपछि छानबिन गर्दा १३ को नागरिकता बदर गरिएको हो।
कार्यालयका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले नागरिकता बदर हुनेमा दुई गैरनेपाली भए पनि बाँकी सबै नेपाली रहेको जानकारी दिए।
गैरनेपालीले नक्कली आमाबुबा बनाएर नागरिकता लिएको र नेपालीले पहिलो श्रीमान् बितिसकेपछि दोस्रो विवाह गर्दा नागरिकताकै आधारमा विवाद झिकेर सम्पत्ति हडप्न खोज्नेको नागरिकता बदर गरिएको घिमिरेले बताए।
खुल्ला सीमा नाका, भारतीयहरुको बाक्लो बस्ती र देशभरिका फरक भाषा र संस्कारका मानिसको बसोवास रहेकाले कैलालीमा यस्ता विवाद पटकपटक उठ्ने गरेको छ।