काठमाण्डु, २२ भदौ– निजामति सेवा दिवस कर्मचारीले आज राजधानीसहित मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।
दिवसको यो वर्षको नारा ‘निजामति सेवाको मान्यता, अनुशासन र इमान्दारिता र नैतीकता’ भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।
अहिले नेपालमा हाल ७५ हजार निजामती कर्मचारी कार्यरत छन् । निजामति कर्मचारी दिवसका अवसरमा राजधानीमा कर्मचारीले बिहान पदयात्रा गरेका छन् ।
दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ । यस्तै ३७ जना पूर्वकर्मचारीलाई दिवसको अवसर पारेर सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।