देशभर एकजना पनि भेटिएन उत्कृष्ट कर्मचारी

काठमाण्डु टुडे २०७१ भदौ २२ गते २:०७ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– सरकारले पुरस्कृत गर्नका लागि यस वर्ष सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेन ।
२०५६ सालमा स्थापित उक्त पुरस्कारबाट यसअघि दुईजना कर्मचारी मात्र पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी दुई लाख रूपैयाँ छ ।

उत्कृष्ट काम गरेबापत दिइने उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र उल्लेखनीय कार्यसम्पादन गरेबापत दिइने निजामती सेवा पुरस्कार भने आइतबार बिहान घोषणा गरिने भएको छ ।

पुरस्कारकारको घोषणा हरेक वर्ष निजामती सेवा दिवसका अवसरमा भदौ २२ गते गर्ने गरिन्छ । जनही एक लाख रूपैयाँ राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार १० जनालाई र ५० हजार रूपैयाँ राशीको निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो ।
‘सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी नभेटिएको हो वा नाममा विवाद परेका कारण हो यसपटक घोषणा गर्न खोजिएको छैन’,  मन्त्रालयका एक उच्च अधिकारीले भने । अहिलेसम्म दुईजनाले मात्र उक्त पुरस्कार पाउनुले पनि हरेक वर्ष दिनुपर्ने बाध्यता नभएको ती अधिकारीले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us