सिन्धुपाल्चोक, २२ भदौ– सिन्धुपाल्चोकको माङ्खा जुरेमा गएको पहिरोले थुनिएर सुनकोसी नदीमा बनेको अस्थायी ताल फुटेको छ ।
प्रहरीका अनुसार ताल आज बिहान चार बजेको समयमा फुटेको हो । ताल फुटेर पानी बाहिरिएको छ । ताल फुटेका कारण कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका निरीक्षक जयश्वर दाहालले बताए ।
ताल फुटेर आएको बाढीले लामासँघुमा रहेको पुलमा क्षति पुगेको छ । उद्धार कार्यमा प्रयोग गरिंदै आएको नेपाली सेनाको एउटा स्काभेटर र उद्धारकर्मी बस्न बनाइएको अस्थायी टहरा बाढीले बगाएको छ । गत साउन १७ गते राति वर्षातसँगै गएको पहिरोले सुनकोसीमा ताल जमेको थियो । पहिरोमा पुरिएर १ सय ५७ जनाको ज्यान गएको थियो ।
नेपाली सेनाले विस्फोट गराएर ताल खुलाउने प्रयास जारी राखेको भए पनि पूर्ण सफलता हात लाग्न सकेको थिएन । सेनाले गराएको लगातारको विस्फोटका कारण कमजोर बन्दै गएको ड्याम पानीले बगाएपछि ताल फुटेको अनुमान गरिएको छ ।
ताल फुटेपछि सेना, प्रहरी र सशस्त्र प्रहरीको थप टोली घटनास्थल पुगेको छ । ताल फुटेपछि अरनिको राजमार्गमा दुवैतर्फ यातायात सञ्चालनमा रोक लगाइएको छ ।