भारत–पाकिस्तान युद्ध कसरी सुरु भयो ?, कसरी रोकियो ?

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १८:५८ मा प्रकाशित

एजेन्सी– भारत र पाकिस्तानबीच युद्धविराम भएको छ ।
दुवै देशका उच्च अधिकारीले आफूहरुबीच युद्ध रोक्ने सहमति भएको बताएका छन् ।
पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले तत्काल लागू हुने गरी युद्धविराम भएको पुष्टि गरेका छन् ।

मिश्रीका अनुसार पाकिस्तानी र भारतीय उच्च सैनिक नेतृत्वबीच युद्धबिरामको सहमतिअघि टेलिफोन वार्ता भएको थियो । उनले शनिबार ५ बजेदेखि लागू हुने गरी युद्धबिराम भएको बताए । ‘दुवै पक्षबीच भारतीय समय अनुसार साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा जारी युद्ध रोक्ने सहमति भएको छ’, मिश्रीले भनेका छन् ।

भारत–पाक युद्धको आरम्भ
गत २३ अप्रिलमा भारत प्रशासित जम्मू र कश्मीरको बैसरान उपत्यकामा पर्ने पहलगाममा भएको आतंकवादी आक्रमणले भारत र पाकिस्तानबीचको तनावलाई चरमोत्कर्षमा पुर्यायो । उक्त आक्रमणमा २५ हिन्दू पर्यटक, एक इसाई पर्यटक र एक स्थानीय मुस्लिमको मृत्यु भएको थियो । घटनामा २० भन्दा बढी घाइते भएका थिए । यस घटनापछि भारतले पाकिस्तानले आतंकवादी समूहको संरक्षण गरको आरोपमा सैन्य कारवाही गर्न प्रेरित गर्यो ।
अपरेसन सिन्दुर
भारतले मे ७ मा पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दुर’ नामको सैन्य कारबाही थाल्यो । जसमा पाकिस्तानको पंजाब र पाकिस्तान अधिनस्थ कश्मीरका नौ स्थानमा मिसाइल आक्रमण गरियो । भारतका अनुसार, यस कारवाहीमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबा जस्ता आतंकवादी समूहहरूको संरचनालाई लक्षित गरिएको थियो । पाकिस्तानले यस आक्रमणमा ३१ नागरिकको मृत्यु र ४६ भन्दा बढीको घाइते भएको जनाएको छ ।

पाकिस्तानले प्रतिकार गर्दै भारतीय शहरहरूमा ड्रोन र मिसाइल आक्रमण गर्यो, जसमा भारतका अनुसार १५ नागरिकको मृत्यु र ४३ घाइते भएका छन् । यस द्वन्द्वमा भारतीय र पाकिस्तानी वायुसेनाबीचको हवाई संघर्ष पनि भएको थियो । जसमा भारतका तीन र पाकिस्तानका एक विमान खस्दा यो क्षेत्रको सबैभन्दा ठूलो हवाई द्वन्द्वको रूपमा चिनिएको छ ।
युद्धविराम घोषणामा अमेरिकी मध्यस्थता
दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको युद्धले क्षेत्रीय अशान्ति र अस्थिरताको चुनौती बढायो । अन्तर्राष्ट्रिय समुदायसमेत भारत र पाकिस्तानको पक्ष र विपक्षमा उभिने खतरा सन्निकट थियो । यहीबीच अमेरिकाले युद्धबिरामका लागि मध्यस्थता ग¥यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तानबीच आफ्नो मध्यस्थतामा ‘पूर्ण र तत्काल युद्धविराम’ को सहमति भएको घोषणा गरे । अमेरिकी मध्यस्थतामा दुवै देशका उच्च अधिकारीहरूले सैन्य कारबाही रोक्ने सहमति जनाए । भारतका विदेशसचिव विक्रम मिस्री र पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविरामको पुष्टि गरेका छन् ।

मानवीय क्षति र परिणाम 
यो द्वन्द्वले जम्मू र कश्मीरको पुंछ जिल्लामा विशेष गरी नागरिक जीवनलाई प्रभावित पार्यो, जहाँ घर, गुरुद्वारा र विद्यालयहरूमा क्षति पुगेको थियो। यस संघर्षले क्षेत्रीय अस्थिरता र द्विपक्षीय सम्बन्धमा थप जटिलता ल्याएको छ, जसले दीर्घकालीन शान्ति र स्थायीत्वका लागि चुनौती प्रस्तुत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us