काठमाण्डु, २१ भदौ- सत्तारुढ काँग्रेस र एमाले एकीकृत माओवादीको मागअनुसार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद थप्न सहमत भएका छन् ।

शनिबार साँझ बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठकले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै समितिको म्याद थप गर्न सहमत भएका हुन् । यद्यपि दलहले कति समय थप्न आग्रह गरिएको हो भन्ने खुलाएका छैनन् ।
एमाओवादीले वैद्य माओवादीलाई समेत सहमतिमा ल्याउन पर्याप्त समय चाहिने भन्दै एक महिना म्याद थप्नुपर्ने बताएको थियो । एमाओवादीले सहमतिमै संविधान जारी गर्नुपर्ने भन्दै समितिको म्याद थप्नुपर्ने प्रस्ताव शुक्रबार बसेको शीर्ष नेताको बैठकमा राखेको थियो ।
तर काँग्रेस–एमालेले सहमति भएका र नभएका विषय छुट्याएर संविधानसभाको प्रक्रियामा लैजाने अडान लिएका थिए । पूर्वनिर्धारित कार्यतालिकाअनुसार विवादित विषयमा सहमति जुटाउने समय शनिबार साँझ सकिएको थियो ।
संवाद समितिले पनि घुमाउरो शब्दमा ८ माघमा संविधान जारी गर्ने कार्यतालिका प्रभावित नहुने गरी समय थप्न संविधानसभालाई आग्रह गरेको थियो । आफ्नो प्रतिवेदनमा समितिले केही विषयमा विवाद मिलाउन बाँकी रहेको उल्लेख गरेको छ ।