
काठमाण्डू, १७ वैशाख– आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता घटक दलको बैठकमा ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भएको छ ।
वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ ।
‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ,’ उनले भने । समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको उनले जानकारी दिएका छन ।
बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको उनले जानकारी दिएका छन । विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको उनले जानकारी दिएका छन ।
आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको उनले बताए । उनले भने, ‘खासगरी युवा पुस्ताहरूमा आशा र विश्वास जगाउनका लागि निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनु भएको छ ।’
अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचना र फजुल खर्चहरूलाई निर्मतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षता बढाउने विषयमा पनि छलफल भएको उनले बताएका छन । वाह्य सम्बन्धहरूलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको पनि उनले जानकारी दिए ।