दुईवटा रोटी र अलिकति दाल खाने हो, मलाई किन चाहियो सम्पत्तिः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १७:५५ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेकपटक अनेक भ्रम फैलाउने गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे ।

‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो जीवन सबै खुल्ला र पारदर्शी रहेको पनि बताएका छन । उनले भने, ‘मेरो जीवन सबै खुला र पारदर्शी छ ।

यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन ।’ आज शुक्रबार ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार राजधानीमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सुशासनबाट मात्रै मुलुकलाई समृद्धितिर लैजान सकिने भन्दै छिटो छरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए ।

प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणदायी हुने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us