काठमाण्डू, ८ फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने दाबी गरेका छन ।
आज बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन ।
सञ्चारकर्मी हरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता कोइरालाले भने, ‘कुनै न कुनै रुपमा विधान अनुसार समयमै हुनुपर्छ ।
चुनावपछि अधिवेशन गर्यो भने नेपाली कांग्रेसको अवस्था नाजुक हुन्छ, कमजोर हुन्छ भन्ने कुरा मात्रै हो ।’ साथै, उनले पार्टी अहिले सबै संस्थापन पक्षको रहेको पनि जिकिर गरेका छन ।‘नेपाली कांग्रेस पूरै संस्थापन पक्ष हो ।
त्यसरी हेर्नुस् तपाईंहरूले । तपाईंहरू जसरी सोधिरहनुभएको छ, त्यो होइन । हामी सबै एउटै हौं,’ कोइरालाले सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरू समयमा अधिवेशन गरौं ।
नेपाली कांग्रेसको विधानमा केही अप्ठेरो पर्यो भने एक वर्ष दिएको छ । संविधानले अर्को ६ महिना दिएको छ ।
यो भनेको डेढ वर्ष हो,’ कोइरालाले भनेका छन् । केही दिनअघि नकांग्रेस प्रवक्ता प्रकाशशरण महतले १५औं महाधिवेशन ०८२ सालमा असम्भव भएको बताएका थिए ।
कांग्रेसको विधान अनुसार महाधिवेशन चार वर्षभित्र गर्नुपर्छ । १४औं महाधिवेशन ०७८ मंसिरमा भएको थियो